Tuesday, February 28, 2017

हामी कविता:

Image

परिचय:

धवलागिरी अञ्चलको मुस्ताङ जिल्ला अन्तर्गत पर्ने थांक टुकुचा भन्ने गाउँमा वि.सं. १९९२ पौष १० गतेका दिन पिता हितमान शेरचन र माता पदमकुमारी शेरचनका कान्छा छोराका रुपमा जन्मिएका भुपेन्द्रमान शेरचन नै नेपाली साहित्यमा भूपि शेरचनका नामले चिनिएका व्यक्ति हुन् । बि.ए. सम्मको औपचारिक शिक्षा हाँसिल गरेका भूपि शेरचनका ‘नयाँ झयाउरे’ (गिति कविता संग्रह-२०१०), ‘निर्झर’ (कविता संग्रह- २०१५), ‘घुम्ने मेचमाथी अन्धो मान्छे’ (कविता संग्रह-२०२५), ‘भूपि शेरचनका कविता’ (कविता संग्रह-२०५७) समेत गरी चारवटा कविता संग्रह र एउटा ‘परिवर्तन’ (नाटक-२०१०) समेत प्रकाशित छन् ।

स्वच्छन्दतावादी भावधारामा प्रगतिवादी दृष्टीकोण अपनाएर कविता सिर्जना गर्ने भूपि व्यङ्ग्य र विद्रोहका कवि हुन् । उनी सामाजिक, विकृति, विसङ्गति, कुरीति, अन्धपरम्परा, राजनैतिक तथा आर्थिक क्षेत्रमा देखिएको भ्रष्ट प्रवृतिमाथि व्यङ्ग्यात्मक स्वर पोख्छन् । प्रकृति,समाज र मानवका बीचको तादाम्य सम्बन्ध देखाउने कवि प्रकृतिका विविध पक्षको चित्रण गर्न मन पराउने कवि भूपि राष्ट्रताको भावना पोख्न समेत पछि पर्दैनन् । भूपि विचार र भावनामा देशलाई सदासर्वदा बचाइराख्नु पर्छ भन्दछन् । कविको निधन वि.सं. २०४६ साल जेष्ठ २ गते काठमाडौँमा भएको थियो ।

रुपरेखा पत्रिका २०१९ मा प्रकाशित र ‘घुम्ने मेचमाथी अन्धो मान्छे’ कविता संग्रहमा

संकलित ‘हामी’ कविता ६ भाग र १६२ पङ्तीमा संरक्षित छ । ‘हामी’ शब्दले सम्पूर्ण नेपाली जातिलाई यहाँ समेटेको छ । यस कवितामा कविले नेपालीको वास्तविक स्थितिप्रति व्यङ्ग्य गर्दै सचेतताको पाठ पढाएका छन् । आधुनिक सभ्यता एवम् सम्पन्नताको नाममा आफ्नो गौरवमय इतिहास, परम्परा, संस्कृति र सभ्यतालाई बिर्सेर परावलम्बी हुनु हाम्रो ठूलो भूल हो भन्ने कविको विचार छ ।

भूपि शेरचनको यस कविता  पि‍युको चार वर्षे स्नातक तहको शिक्षा संकाय अन्तर्गत प्रथम वर्षको सामान्य नेपाली अन्तर्गत पठनपाठन हुने एक व्यङ्ग्यात्मक कविता हो । विभिन्न वस्तु सँग मानव लाई दाँज्दै कविले यस कविता मार्फत मानवको स्भावप्रति रोष प्रकट गरेका छन् । यस कविता अहिले पनि समय सापेक्ष र उत्तिकै सान्दर्भिक लाग्छ । यही सान्दर्भिकता, रोचकता, समय सापेक्षता, परिस्थिति अनुकूलले गर्दा यस कविता ब्लगको पोष्ट बन्न पुगेको छ । आशा छ यहाँ लेखिएका अक्षरहरुको शुद्धाशुद्धी लाई सानो मान्छे सम्झेर माफी दिनुहुने छ । प्रस्तुत छ ‘हामी’ कविताका हरफहरु ।

- भूपि शेरचन

(१)

हामी जतिसुकै माथि उठौँ

जतिसुकै यताउति दगुरौँ ,

जतिसुकै ठूलो स्वरमा गजौँ

तर, हामी फगत पानीका थोपा हौँ

जो सूर्यद्वारा माथि उचालिन्छौँ,

अनि एकचोटि माथि पुगेपछि

हामी आफ्नो धरतीलाई बिर्सन्छौँ

र आफ्नो धरतीलाई

खोलालाई

बगरलाई उपेक्षापूर्वक

पालिएका कुकुर

झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुकेझैँ

हामी भुक्तछौँ

र आफ्नो कुकुर भुकाइलाई गर्जन भनिठान्छौँ

अनि अन्त्यमा एक दिन बसेर चकनाचूर हुन्छौँ

र फेरि परिणत हुन्छौँ पानीका थोपाहरुमा

निर्बलिया थोपाहरुमा

र कुनै इनार, खाडल वा पोखरीमा

कुहेर बिताउँछौ बाँकी जीवन

टर्र……..टर्र टर्टराउने घिनलाग्दा भ्यागुत्ताहरु पालेर,

विष नभएका साँपहरु अँगालेर ।

हामी जतिसुकै माथि उठौँ

जतिसुकै ठूलो स्वरमा गजौँ

तर, हामी भित्र-भित्रै खोक्रा छौँ,

हाम्रो उठाइको कुनै महत्व छैन,

हाम्रो दगुर्याइको कुनै लक्ष्य छैन,

हाम्रा गर्जनको

पानीमा फालिएको अगुल्टोको ‘छ्ववाइँय्य’ भन्दा बढी वजन छैन ।

(२)

हामी बाहिरबाट जतिसुकै उच्च देखिएता पनि

भित्र-भित्र निरन्तर खिइँदै र घिसिँदै गइरहेका छौँ

हाम्रो बाहिरको उचाइ झूटा हो

भ्रम हो ।

अग्लो टाकुरामा उम्रेको सानो च्याउको उचाइभन्दा

यसको बर्ता महत्व छैन,

वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने

भारतीय चटकेको उचाइभन्दा यसको बढी विशेषाता छैन

अग्लो चुच्चे टोपी लगाई नाच्ने

सर्कसको जोकरको उचाइभन्दा यसको वर्ता महत्व छैन,

हामी बाहिरको उचाइमा रमेका छौँ,

लठ्ठिएका छौँ, फुलेका छौँ

तर हामीले, आफ्नो आस्थाको द्वीपमा

निरन्तर खिइँदै र घिसिँदै गइरहेको कुरालाई भुलेका छौँ

हिनताको सानो द्वीपमा पछारिएर

हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौँ

हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौँ

हामीले सामान्य मानिसको उचाइलाई बिर्सिसक्यौँ

त्यसैले जब कुनै सामान्य मानिस

कथामा वर्णित गुलिभरझैँ,

आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा

हामी छक्क परेर उसलाई हेछौँ

हामी उसलाई हेरेर छक्क पछौँ

हामीलाई उसको उचाइ देखेर आश्चर्य लाग्छ

हामीलाई आफ्नो पुडकाइ देखेर आश्चर्य लाग्छ

हामीलाई आफ्नो पुडकाइ देखेर डर लाग्छ

र त हाम्रो आफ्नो हिन भावनाका

सियो जत्रा स-स्याना हतियारहरुको उसमाथि

प्रहार गछौँ,

उसको अङ्ग-प्रत्यङ्गमा चढ्छौँ,

उफ्रन्छौँ,

चिमोट्छौ

र अन्त्यमा थकित भएर तल ओर्लन्छौँ,

शान्त हुन्छौँ

समर्पित हुन्छौँ,

र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले

तल ओर्लेर त्यसको पाउ पखालेझैँ

हामी पुज्न थाल्दछौँ त्यो साधारण मानवलाई

महान् भनेर ।

हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि

भित्रभित्रै निरन्तर खिइँदै गइरहेका छौँ 

हामी ‘लिलिपुट’ का मानव हौँ

हामी लघुमानव हौँ ।

(३)

हामी आफुखुसी कहिले मिल्न नसक्ने

कसैले मिलाइदिनुपर्ने,

हामी आफुखुसी कहिले छुट्टिन नसक्ने

कसैले छुट्याइदिनुपर्ने,

हामी आफुखुसी कहिले अगाडि बढ्न नसक्ने

कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने

हामी रङ्ग-रोगन छुटेका,

टुटेका, फुटेका

पुरानो क्यारमबोर्डका गोटी हौँ,

एउटा मनोरञ्जन खेलका सामग्री,

एउटा खेलाडीमाथि आश्रित,

आफ्नो गति हराएका

एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित

हो, हामी मानिस कम र बर्ता गोटी हौँ  ।

(४)

हामी वीर छौँ

तर बुद्धु छौँ

हामी बुद्धु छौँ

र त हामी वीर छौँ

हामी बुद्धु नभईकन वीर कहिल्यै हुन सकेनौँ ।

हामी महाभारतको कथामा वर्णित एकलव्य हौँ

प्रत्येक पिंढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ

हामीलाई ज्ञानदान गर्नबाट इन्कार गर्छ

इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,

शक्तिलाई,

र अस्तित्वलाई

तर हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौ

आफ्नो झुप्रोअगाडि

त्यसलाई पुज्छौ

ढोग्छौँ ।

निरन्तर धनुर्विद्याको अभ्यास गछौँ,

र द्रोणचार्यका अन्य कुलीन

चेलाहरुभन्दा बढी कुशलता प्राप्त गछौँ

तर, हाम्रो कुशलतादेखि आश्चर्यचकित

र भयभीत भई

प्रत्येक पिँढीमा द्रोणचार्य हामीकहाँ आउँछ

र गुरु-दक्षिणाा माग्छ

र हामी सहर्ष उसको इशारामा

आफ्नो बूढीआौँला काटेर उसलाई भेटी दिन्छौँ

आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गछौँ

र मख्ख पछौँ आफ्नो गुरुभक्तिमाथि

आफ्नो आत्मशक्तिमाथि

त्यसैले हामी वीर छौँ

तर बुध्दु छौँ

हामी बुध्दु नभईकन वीर कहिले हुन सकेनौँ

हामी कसैका मूर्ति स्थापना नगरीकन

वीर कहिले हुन सकेनौँ ।

(५)

हामी पाइताला हौँ

केवल पाइताला

र फगत पाइताला

पाइताला: जसको भरमा शरीर उभिन्छ

पाइताला: जसको आधारमा शरीर हिँड्छ

पाइताला: जसको भरोसामा शरीर दगुर्छ

पाइताला: तर जो भन्ठान्छ कि

शरीरले कृपा गरेर उसलाई पालिरहेछ ।

दया गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ

मख्ख पर्छ शरीरको महानतामाथि

र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ

कहिले शिर उचालेर माथि हेर्दैन

सधैँ-सधैँ नतमस्तक रहन्छ

हामी पाइताला हौँ ।

हामी दौडमा प्रथम हुन्छौ

र हाम्रो छातीले तक्मा टाँस्छ

हाम्रो टिका थाप्ने निधार अर्कै छ,

हाम्रो माला लाउने घाँटी अर्कै छ,

हामी तक्मा टाँस्ने छाती अर्कै छ,

हाम्रो फगत कसैको इशारामा

टेक्ने, हिड्ने र दगुर्ने पाइताला हौँ

केवल पाइताला

र फगत पाइताला

(६)

हामी केही पनि होइनौँ

र सायद त्यसैले केही हौँ  कि!

हामी कतै पनि, केही पनि छैनौँ

र सायद त्यसैले कतै, केही छौँ  कि!

हामी बाँचिरहेका छैनौँ

तर शायद त्यसैले पो बाँचेका छौँ  कि!

त्यसैले आओ ए शून्यपूजकहरु

हामी सब मिलेर पुजौँ यो शून्यतालाई!

हामी सब मिलेर ढोगौँ  यो रिक्ततालाई

हाम्रो अस्तित्वको यो देवतालाई ।

स्रोत: सामान्य नेपाली वि.एड्. प्रथम वर्ष पि.यु.